Pages

Friday, October 14, 2011

कृषक, शिक्षित युवा


१५ रोपनी भाडाको जग्गा । त्यो पनि १५ बर्षका लागि नै । १५ वटा दुहुने गाई । १५—२० बोट सुन्तला । छ हजार कुखुरा । बाकी जग्गामा तरकारी खेती र बिकासे घासँ, सानो पानी पोखरी पनि छ । छेउमा आराम गर्ने टहरो, कामदार सुत्ने कोठा र दाना बनाउने मेसिन पनि त्यही अटाएको छ । बजारमा एउटा फ्रेस हाउस पनि खोलेका छन । दाना र सरसामानका लागि पोखरा र कहिले नारायणगढ सम्म मोटरसाईकलमा कुदिरहन्छन । साथी भाइृहरुसगँ पनि रमाइलो हुने ठाउँमा उनीहरु पुगेकै हुन्छन । युवा बैस धान्न पैसा खर्च गरिरहन्छन । उनीहरुको लगनशिलता देखेर धेरै गाउले छक्क पर्छन भने उत्प्रेरणा दिने र ईष्र्या गर्ने पनि छन । उनीहरु कै उद्यमसिलताको सिको गर्नाले  अहिले पोखरा नजिकैको हेम्जा गाउँको नै स्वरुप परिर्वन भएको छ । यी  हुन ३० वर्षे दुई युवा  बिष्णु पौडेल र लेखनाथ पौडेल ।


      ‘पढन त बिए पास गरियो तर जागिर पाईएन । बाहिर जाने प्रयास पनि गरियो सफल भईएन । हामी दुई गाउले दाजुभाई र अति नै मिल्ने साथी भएकाले अव गाउँमा नै केही गरौ भन्ने सल्लाह मिल्यो । २०५५ सालमा गाउँकै गौरीशंकर मा.बिद्यालयको झाडी जंगलभएको यो जग्गा हामीले भाडामा लिएर तरकारी खेती गर्ने निर्णय गर्‍यौ । आफ्न्त र गाउलेले पागल बनाए । आफ्नै जग्गा हुदाहुदै यो जंगल र रुखो जग्गा लिएर साझेदारीमा केही गर्न सक्दैनौ भन्ने धेरै थिए । हाम्रो उत्साह घटेन मेहनत अझ बढ्दै गयो । अहिले उनीहरु नै  अझ उद्यमी बन्न प्रेरित गर्दैछन भन्छन बिष्णु पौडेल ’।


      शुरुमा त हामीले रात दिन दुख गर्दा कहिलेकाही हिनताबोध पनि भयो । कमाई खासै थिएन परिश्रम बढि । साथीहरु बिदेश गएर डलर पठाउदा मन कुडिन्थ्यो । घरमा आउदा उनीहरुको फुर्तीले मन बहकिन्थ्यो । तर ३—४ वर्ष यता हाम्रो पनि बिभिन्न क्षेत्रबाट आय बढ्दै गयो । अनुभव र संपर्क बिस्तार भयो । अहिले त हरेक तरकारी, फलफुल,अण्डा,कुखुरा , दुध र मलले पनि पैसा दिदै गएकोले खुसी र गर्व लाग्छ हामी घरमै बसेर जागिर खाने र बिदेश जानेलाई फुर्ती लाउन सकेका छौ भन्छन् लेखनाथ पौडेल ।

      बिहानमा त्याहा पुग्दा कोही गाई दुहुदै छन । कोही कुखुराको खोर तिर ब्यस्त छन । कोही तरकारी बारीमा काम गर्दैछन । यहा उद्योगमा झै बेफुर्सति कार्य भैरहेको छ ।  तरकारी जोखिरहेको ठाउँ नेर सुकिला लुगामा हिसावको खाता पल्टाईरहेका बिष्णु पौडेल भन्छन कृषि पेशालाई आधुनिकता दिए यही सुखी भईन्छ । हाम्रोमा ४ जना त स्थाई कामदार छन बेलाबेलामा अस्थाई भर्ना गरिन्छ । शुरुमा त हामी नै कोदाली खन्यौ अहिले हिसाव गर्ने र सहि सामान उचित मूल्यमा जुटाई दिनु मात्र हाम्रो काम हो ।अरु सवै कामदारले गरिहाल्छन । सगै कलेज पढेका साथी भेट हुन्छन् तर गाई पालेको छु, कृषि पेशा गर्छु भन्दा होच्याउछन । उदेक लाग्छ । सवै खर्च कटाएर मासिक १५—२० त कमाईएकै छ । जग्गा बापत बिद्यालयलाई बार्षिक ३५ हजार बुझाईरहेछौ ।तिर्ने ठाउ र घरब्यावहार चलाएकै छौ । सात वर्ष अघि घरबाट पाचँ पैसा नलिई बैक र ब्याक्तिगत ऋणबाट शुरु गरेका हौ ।अहिले २० लाख बरावरको सम्पत्ती त यहि कृषिले जोडिसकियो । होला केही प्रतिशत ऋण । तर अरवजाने वा भष्ट्रचार नगरी जागिर खानेलाई त जितेकै छौ । कृषि पेशा गर्नेले गोवरमात्र फाल्छन माटोमात्र खेलाउछन, दुख मात्र पाउछन भन्ने ठान्नु मुर्खता हो । अबिबाहित बिष्णु भन्छन छोरी दिन आउने बाबुले पनि केटाको पेशा कृषि हो भन्दा तर्सने रहेछन । यो कृषि प्रद्यानमुलृकको ठुलो दुभाग्य हो ।


      आफ्नो घरको जग्गा जमिन हुदाहुदै यो खेर गएको स्कुलको जग्गा भाडामा लिए । दुई जना अल्लारे केटा आएर कृषि र्फम खोल्छौ भन्दा हामीलाई पनि यस्तो प्रगती गर्लान भन्ने लागेको थिएन । तर उनीहरुको कामले साझेदारी भावनाले र लगनसिलताले हेम्जागाउँलाई नै प्रेरित गर्‍यो भन्छन गौरिशंकर मा.बिद्यालयको प्रद्यानअध्यापक भुवनेश्वर पौडेल ।   त्यती बेला यो गाउँमा ब्यावसायिक तरकारी गरिदैनथ्यो । यिनै केटाहरुको देखेर तरकारी बेचेर पनि पैसा कमाइने रहेछ । तरकारी लगाए घरै खरिद गर्न आउदा रहेछन । दुध र कुखुराले पनि राम्रो फाईदा दिनेरहेछ भन्ने कुरा समेत यहाकाले सिके । अहिले हेम्जाबासी नब्बे प्रतिशतले तरकारी खेतीलाई ब्यावसायमा परिणत गरेका छन । यसको श्रेय यिनै केटाहरुमा जान्छ भन्ने कुरा समेत उनी स्वकार्छन ।

     युवाहरु बिदेशिनाले र शहर पस्नाले नेपालका गाउँहरु रित्तिदै छन । अझ देशमा चलेको अशान्तिले त बालक देखी बृद्ध सम्मको मन बहकायको छ । बिकासका संरचना र पुर्वाधारको गती उल्टो दिशा हिडदैछ । यो अवस्थामा हरेक नेपालका गाउँमा यस्तै मेहनती र उद्यमी शिक्षित युवाको खाचो छ । यिनीहरुको कार्य र भावनालाई मार्नु हुदैन । तवमात्र यो देशको बिकास हुनेछ । । ।

    
 ं(यो समाचार पनि आज भन्दा ७ वर्ष अगाडी कान्तिपुरको कोशेलीमा आइसकेको हो । अहिले बिष्णु लेखनाथ कहा के गर्दैछन मलाइ थाहा छैन । मलाइ लाग्छ, अहिले नेपालका युवाहरुको लागि यो समाचार फलदायी हुनसक्छ ।)

No comments:

Post a Comment