Pages

Monday, October 10, 2011

बनठाटीका मन

Hungry eyes
बनठाटीका मन
माथी बादर लड्ने भिर । तल जंगलको बिच भएर बगेको खोलो । खोलाको तिरमा ४—५ वटा होटलहरु । अरु भन्दा केही पर बाटो नै आगनरहेको होटलहंग्रीआई । चार घण्टाको उकालो ओरालोले थाकेको जिउ । एक छिन न आराम गर्नैपर्‍यो । पिठ्युको झोला कहिल्यै नचाहिएला झै मिल्काएर बसेका पदयात्रीहरु । होटल्नी भर्खरकी युवती आएर सोधिन— केहि लिनुहुन्थ्यो कि ? पदयात्रीले भने हिडेर सारै थाकियो छ्याङ छ होला बैनी ? हास्दै जवाफ आयो यो त बाहुनको होटल हो यहा छ्याङ हैन सिलप्याक मात्र पाईन्छ । उनले त्यही ल्याउन भने र थपे रक्सी नखानेलाई दुध होला नि ? भित्रबाट हातमा मिन्यू लिएर अर्की युवती निस्किन र हास्दै भनिन यो लेकमा सवै भैसी थारै छन । पदयात्रीले हास्दै सोधे ......के बेला भएको छैन ? उत्तर पनि तुरुन्त त्यस्तै आयो — .. कतै गए पो । हासोको फोहरा छुट्यो ।



एउटी भान्सातिर पसिन, अर्की नजिकैको अर्को टेवुलमा बसेका
बिदेशीसगँ अनुभवले सिकेको अंग्रजीमा अर्डर टिप्न थालिन ।
 २०—२५ बर्षे दुई दिदी बैनी । घोरेपानीको गुरासे घना जंगल र बिचमा बग्ने स्वच्छ बनठाटी खोला । खोलाको पानी भन्दा निश्चल उनीहरुको मन । बनकी चरी झै फुरुङ र चिरबिरे झै हास्दै बोलिरहने बानी । जिज्ञासा जाग्यो यहा को को बस्नुहुन्छ ? ठुली तारादेवी पौडेलले मकै भुटेझै जवाफ दिईन— यो होटल हामी दुई दिदी बैनीले चलाएका हौ । अरु कोही छैन पर दाईको होटल छ । पाचँ बर्ष भयो यो होटल गरेको पहिले पर थियो यही खोलाले बगायो । यो होटल साडे सात लाखमा किनेर सर्‍यौ,यो सवै यहीको कमाई हो घरबाट त पाचँपैसा पनि ल्याएका छैनौ  । पहिले त खुवै ब्यापार हुन्थ्यो पोहर त सारै भएन । अहिले सिजन लागेको छ, एक पक्षिय भए पनि युद्ध बिराम भएकोछ । केही होला, केही नभए पनि जसोतसो त पुगिहाल्छ । आफ्नो खर्च धेरै छैन, हामीलाई भाडा तिर्नु छैन । ठुलो परिवार पाल्नु त छैन नि न त बच्चाको टेन्सन न त लोग्नेको कनकन । एक्लै छौ भन्दा दुई छौ दुई भन्दा साथ दिने कोही छैन । हास्दै आएको उनीहरुको जवाफमा निडरता थियो अनी गौरव पनि । वरपर घना जंगल, घरको धुरीमाथी मौरीभिर र आगँनको डिलमा खोलो । आगँनको बाटो भएर हिडने अनेकौ थरीका स्वदेशी एवं बिदेशी पदयात्री । न त उनीहरुमा प्रकृतीसगँ नै डर छ न त मानब प्रवृतीसगँ नै । बैनी सिता पौडेलले भनिन खोलोपैह्रो र भिर जंगलमा नै जन्मियो हुर्कियो के डर मान्नु । डर बरु केही मान्छेसगँ लाग्छ तर होटल पेशामा लागेको नै दश वर्ष भयो अहिले सम्म नराम्रो भएको छैन । हाम्रो पुरानो घर घान्द्रुकको मेलाईचे हो । हामी त सानैबाट गुरुङ मगरको समाजमा हुर्कियौ । उनीहरुकै सस्कृती परम्परासर्गेँ वढि परिचित भयौ,उनीहरु झै खुल्ला भएर बोल्ने बानी पर्‍यो । बाहुनका छोरी हामीलाई देख्दा सवै छक्क पर्छन कोही नराम्रो भावनाले पनि हेर्छन ,कोही प्रभाववित हुन्छन हौसला दिन्छन् ।  हामी हास्छौ रमाईलो गर्छौ कसै प्रति नराम्रो ब्यावहार गर्दैनौ, दिल सफा भए बैरीकोही हुदैन भन्छन् ।  बिद्रोही पक्षका मान्छे पनि यता प्रसस्त हिडिरहन्छन् । नराम्रो ब्यावहार गर्नेलाई उनीहरुले पनि कडा कारबाही गर्ने हुदा  जो कोही नराम्रो ब्यावहार देखाउन सक्दैनन् । उनको तर्कलाई त्यो होटल किने पछि हालै अरु दुई कोठा पनि थपेको उत्साहले प्रमाणित गर्छ । यो रुटमा घोरेपानीको पुन हिल हेरी अन्नपुर्ण बेसक्याम जाने र उतैबाट आउने पदयात्री हिड्छन् । घान्द्रुक— घोरेपानीको छोटो पदयात्रा गर्नेहरुको पनि संख्या निकै हुन्छ ।


वर्षमा दुईपटक  सिजन लाग्छ । असोज देखी मंसीर सम्मको यस मुख्य सिजनमा यो बाटो अझ ब्यस्त रहन्छ । कास्की जिल्लाको सिमानामा पर्ने यो  बनठाटी घान्दु्रकबाट ४ घण्टा र घोरेपानीबाट पनि उही समयमा पुगिने भएकाले बिचमा पर्दछ । यहा आईपुग्दा हरेक पदयात्री देखी हरेक बटुवा थकित हुन्छन् । यसैले यहा रहेका सवै होटल  दिउसो ब्यस्त रहन्छन । पुर्व जाने टाढापानी र घान्द्रुक बस्न जान्छन पश्चिम जाने घोरेपानी पुग्छन् । हिड्न नसक्ने र कुनै समस्या परेका बाहेक यहा बस्दैनन् । किस्तीमा ल्याएको  खाजा टेवुलमा राख्दै तारा भन्छिन् दिनमा त रमाईलो हुन्छ यती धेरै मान्छे देखिन्छ रमाईला कुरा सुनिन्छ राती त त्यही खोलो कराउछ अनी बनका न्याउली र अरु जनावर ।


घान्द्रुकको मेश्रमबराह स्कुलबाट माध्यामिक स्तरको पढाई समेत उनीहरुले पुरा गर्न पाएनन् । घरको काम सकेर र टाढाको स्कुल धाउन उनीहरुलाई पनि गाह्रो भयो र कापी किताव फीस जुटाउन बुवाआमालाई पनि । बच्चै देखी बिदेशीसगँ परिचित घान्द्रुक गाउँका उनीहरुलाई समाज र परिबेशले अंग्रेजीे पढायो । बाध्यताले काम सिकायो । अहिले उनीहरुको भाषा र काम स्टार होटलका कामदारसगँ दाज्नमिल्ने भैसकेको छ । बिबाह गर्ने घरजम गर्ने रहर सोध्दा दुवै हास्दै भन्छन खुल्ला आकासमा रमाएको बनको चरीलाई पिजडामा राखेर तोकेको चाहरो खान हामीलाई हतार छैन । मन मिल्दो अझै यो बाटो हिडेको छैन अर्थात उसको सिजन लागेको छैन होला । । ।



(सन्दर्भ जानाकारी , यो भ्रमण २००५ अक्टुवर अर्थात ठिक आज भन्दा ६ वर्ष अगाडी दशै तिहार बिचको हो र यो समाचार नेपाल पाक्षिकमा आइसकेको थियो । देशमा ठुलो परिर्वतन भै सकेको छ  म पनि बिदेश पसेको ४ वर्ष भो, हाल हग्रीआइको खवर के छ थाहा र्छैन ।)







No comments:

Post a Comment